News Griha :: न्यूजगृह
देव खनाल बने यू–१९ मा दोहोरो शतक हान्ने पहिलो नेपाली

काठमाडौं— शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दोहोरो शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

मलेसियामा जारी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले यू–१९ मा दोहोरो शतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

अहिले जारी खेलमा ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय बनाएका उनको यो यू–१९ मा यो दोस्रो शतक हो ।

गत फागुनमा आईसीसी यू—१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा स्थान बनाएको थियो ।

नेपालबाट यसअघि एकै उमेर समूहमा कुनै पनि खेलाडीले दुई शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन् । उनले यू–१६ र यू–१९ दुबैमा नेपालबाट शतक हानेका छन् ।

नेपालबाट यू–१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् ।

पूर्वकप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् । देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् ।

उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा टीयू क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:३०
Weather Update