News Griha :: न्यूजगृह
‘संविधानको सर्वोच्चतालाई कायम राख्छु’

काठमाडौं— उपराष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई सफलता मिलेमा संविधानको सर्वोच्चतालाई कायम राख्ने, संरक्षण गर्ने, राष्ट्रियताको प्रवर्द्धन र राष्ट्रको संरक्षण गर्ने तथा सबैलाई संरक्षकत्व र अभिभावकत्व प्रदान गर्ने कार्यमा काम गर्ने बताएकी छिन् ।

उनले आज भनिन्,‘म विजयी भएको खण्डमा पदको गरिमालाई कायम राख्दै सबैलाई अपनत्व प्रदान गर्ने भूमिकाका लागि कोसिस गर्नेछु । मतदातासमक्ष यसैका लागि आशा भरोसा राखेर मत मागेको छु,मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।’

त्यसैगरी उपराष्ट्रपतिकै उम्मेदवार जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले नेपालको संविधानको पालना र रक्षाका लागि आफनो उम्मेवारी भएको प्रतिक्रिया दिए ।

उले भने, ‘निर्वाचित भएको खण्डमा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न, संविधान र कानुनको कार्यान्वयनमार्फत मुलुकलाई शान्ति र समृद्ध तुल्याउने कार्यमा मेरो भूमिका रहनेछ ।’

दुवै उम्मेदवारले राजनीतिक दल, तिनका संसदीय दलका नेता तथा मतदातालाई प्रत्यक्ष भेटेर तथा टेलिफोन सम्पर्क गरी आ–आफ्नो पक्षमा मतदान गर्न र त्यसका लागि वातावरण बनाउन आग्रह गरिरहेका छन् ।

उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १८:३२
Weather Update