
काठमाडौं— प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयक २०८० माथि सरकार र नेपाल शिक्षक महासंघसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।
यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घण्टाको समय बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो ।
संशोधनमा यही असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरुको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ । सांसदले संयुक्त र एकलरुपमा एक सय ५० संशोधन दर्ता गराएका छन् ।
सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेसँगै भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासंघसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन् ।
विधेयकमाथि असोज १९ गतेको बैठकमा सैद्धान्तिक छलफलमा सांसदले भाग लिएका थिए ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेगरी कार्यसूचीमा समावेश गरिएको छ ।













