News Griha :: न्यूजगृह
अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए, स्वदेश फर्किन इच्छुकलाई दुई दिनभित्र ल्याइने

काठमाडौं— स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । नेपाल एअरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइलका लागि उडेका हुन् ।

कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको थियो । 

इजरायल र हमासबीच युद्ध जारी रहेकाले त्यहाँ रहने नेपालीले अझै पनि जोखिममा रहेको बताएका छन् । स्वदेश फर्काउन ढिलाइ गरेकामा विद्यार्थीहरू सरकारप्रति आक्रोशित भएका थिए । हालसम्म इजरायल–हमास युद्धमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ  । 

नेपाली राजदूत कान्ता रिजालले पहिलो खेपमा कृषि पढ्न गएका विद्यार्थीलाई पठाइने जानकारी दिइन् । इजरायलबाट आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीको हवाई टिकटको भाडा नेपाल सरकारले फिर्ता दिने निर्णय पनि गरेको छ । हालसम्म ४ सय नेपालीले स्वदेश फर्कन नेपाली दूतावासमा नाम दर्ता गराएका छन् । इजरायलमा हाल केयर गिभरसहित ४ हजार ५ सय नेपाली छन्, जसमध्ये २ सय ६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विभिन्न कृषि फार्ममा छन् । कृषि विश्वविद्यालयबाट ११९, त्रिविबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

दक्षिण इजरायलको सेदोत नगेभमा मारिएका १० विद्यार्थीको शव ल्याउन भने ढिलाइ हुने भएको छ । इजरायल सरकारले मारिएका व्यक्तिको शव हस्तान्तरण नगरेकाले ढिलाइ हुने भएको हो । विद्यार्थीको शव एक अस्पतालमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् ।

हमासको आक्रमणमा परी घाइते ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । सम्पर्कविहीन महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०८:०१
Weather Update