
कास्की— पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।
अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।
मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्थाले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ ।
प्राधिकरणले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए । अध्यक्ष भट्टराईले भने, 'मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआईपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।'
पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।
नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ ।
हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन् ।













