
काठमाडौं— इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री नेतान्याहु र विपक्षी नेता बेनी गान्ट्जबीचको वार्तापछि यस्तो निष्कर्ष आएको हो । विपक्षी नेताहरू यायर ल्यापिड र बेन्नी गान्ट्जलाई हमासको अप्रत्याशित आक्रमणपछि शनिबार नेतन्याहुले पहिलोपटक यसका लागि आमन्त्रित गरेका थिए ।
नेतन्याहु र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गान्ट्जले बुधबार साँझ एक वक्तव्य जारी गर्दै भने, ‘दुवै जना आपतकालीन सरकार र युद्ध व्यवस्थापन क्याबिनेटको स्थापनामा सहमत भएका छौं।’ प्रधानमन्त्री, रक्षामन्त्री र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गरी तीन सदस्यीय ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गरिनेछ ।
युद्ध व्यवस्थापन मन्त्रिपरिषद्मा पर्यवेक्षकका रूपमा दुई अतिरिक्त अधिकारी पनि रहनेछन्। राजनीतिक सुरक्षा परिषद्मा राष्ट्रिय एकता पार्टीको तर्फबाट पाँच जना बिनाविभागीय मन्त्रीहरू थपिनेछ। जसमध्ये एक जना पर्यवेक्षकका रूपमा रहनेछन् । बेनी गान्ट्ज, गिडोन सा’र, गाडी आइसेनकोट र दुई अन्य मन्त्रीहरू हुनेछन्। यो युद्ध अवधिभरका लागि मात्र रहनेछ।













