1691310877.png)
काठमाडौं— इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो ।
बैठकपछि कानुनमन्त्री धनराज गुरुङले भने, ‘नेपाल आउन चाहने नेपालीहरूलाई लिन आज ११ बजे नेपाल एअरलाइन्समा परराष्ट्रमन्त्री जाने र नेपालीहरूलाई लिएर आउने निर्णय भएको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् ।













