
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलमा अख्तियार प्रमुखलाई रविले सो प्रश्न गरेका हुन् ।
राईलाई सभापति लामिछानेले प्रश्न गरे,‘लडाकु शिविर घोटाला छानबिन कता पुग्यो ? टुंगियो कि,कहाँ छ ? वाइडबडी खरिद प्रकरण कहाँ पुग्यो ? वाइडबडीमा घोटाला भएको लेखा समितिले निष्कर्ष निकालेर कारबाही गर्न सिफारिस गरेको थियो । यती लिजमा दिएको कहाँ पुग्यो ? ओम्नी फाइल क्लोज भयो कि ? के भयो ?’
उनले अख्तियारले अहिलेसम्म ठूला माछा समात्न नसकेको भन्दै थप प्रश्न गरे । ‘विगत ५ वर्षमा मुद्दा दर्ताको नाजुक अवस्था छ । मुद्दा दर्ताको संख्या घटेको छ । डर भएर रहेको हो ? जसको पहुँच छैन उसलाई डर । खोइ त ठूला माछा ?’