इजरायलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न आयोगको आग्रह

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलामा परी मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शव नेपाल ल्याउन, घाइतेको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ ।
त्यस्तै आयोगले पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १७:१२













