News Griha :: न्यूजगृह
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प, विदेशी पर्यटक मन्थलीमै रोकिए

रामेछाप— खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।

नागरिक उड्ययान प्राधिकरण रामेछापले दिएको जानकारी अनुसार शनिबारदेखि बुधबारसम्म करिब दुई सय भन्दाबढी उडान स्थगित भएका छन् ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा पर्यटक ओसार्ने विमान कहिलेकाहीँ  फाप्लुको मौसम खुलेपछि त्यहाँ अवतरण गर्ने प्राधिकरण प्रमुख आशोक थापाले बताए ।

पाँच दिनदेखि उडान प्रभावित भएपछि केही कम्पनीले हेलिकप्टरमार्फत पर्यटक ओसारपसार गरिहेका भन्दै हेलिकप्टरका लागि पनि भिजिविलिटि कम भएको उनले जानकारी दिए ।

प्रमुख थापाका अनुसार तीन वायुसेवा कम्पनीले सात जहाज तथा आवश्यक पाइलटसहितका अन्य जनशक्ति तयारी अवस्थामा राखेका छन् ।

‘सीता एअरका दुई, यति एअरलाइन्सका दुई र समिट एअरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएका छन्’, उनले भने, ‘शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेका छैनन् ।’

लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ । ‘अवतरणका लागि पाइलटले केही टाढा देखिनै विमानस्थल देख्नपर्छ । तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ’, थापाले भने ।

यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १६:०७
Weather Update