News Griha :: न्यूजगृह
पूर्वसभामुख महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल ।

काठमाडौं— जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

राहुलसहित लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।

विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो ।

सीआईबीको रायअनुसार कार्यालयले मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हङसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान विद्युतीय चुरोट (भेप) ल्याएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेको थियो । पछि सीआईबीले अनुसन्धान गरेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:५७
Weather Update