
काठमाडौं— कोशी प्रदेश सरकार गठनमा सहयोग गर्ने नगर्ने निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान ८ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रवक्ता मोहन श्रेष्ठले कोशी सरकारबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बोलाइएको जानकारी दिए । कोशीमा राप्रपाका ६ जना सांसद छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा आवश्यक बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले संसदीय दल नेता हिक्मत कार्की र नेपाली कांग्रेस संसदीय दल नेता उद्धव थापा नेतृत्वका सरकारले बहुमत जुटाएर विश्वासकाे मत लिन नसक्दा सरकार ढलेकाे थियाे ।
कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएपछि नयाँ सरकारको प्रक्रिया सुरु भइसकेको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।