News Griha :: न्यूजगृह
विश्वकप छनोटमा बिहीबार लाओससँग भिड्दै नेपाल, के भन्छन् प्रशिक्षक ?

काठमाडौं— नेपालले बिहीबारदेखि सुरु हुने विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् ।

बिहीबार साँझ लाओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए ।

खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने, ‘यो मेरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’

नेपाल र लाओसबीचको खेल बिहीबार साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टोलीमा रहेका नयाँ र ऊर्जावान युवाले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टोलीमा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:०९
Weather Update