News Griha :: न्यूजगृह
नेपाली लिन जहाज इजरायल पठाउँदै सरकार

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ । परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एअरलाइन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।

‘इजरायलका लागि जहाज आज राति ११ बजे उड्छ । ट्रान्जिट दुबई । नेपाल एअरलाइन्सको जहाज जान्छ’  पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले भने ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एअरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसँगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ ।

उद्धारका लागि पहिलो चरणमा नेपाल एअरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशन दिएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए ।

उनले भने,‘आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’ विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ ।

नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयमार्फत भइसकेकोले आजै इन्स्योरेन्सलगायतका प्रक्रिया पूरा हुनासाथ विमान त्यसतर्फ जानेछ ।

इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए । एक नेपाली बेपत्ता छन् ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:२६
Weather Update