
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले आफ्ना नेताकार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् ।
बुधबार पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारबाही गर्ने खालको काम गर्न नहुने बताए ।
उनले भने, ‘पार्टी निर्माण गर्दैगर्दा नजानेर पनि साना–साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारबाही गर्ने खालको कामबाट हामी टाढा रहनुपर्छ ।’
उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंका उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए ।
उनले भने, ‘हामीकहाँ भित्रिएका साथीहरू सबै पार्टी बिगार्न भित्रेका पो हुन कि ? अरु पार्टीले पठाएका पो हुन् कि ? अरु नेताहरुले पठाएका पो हुन कि भन्ने शंका गर्नुपर्ने चरणमा हामी छौं । त्यसैले नआत्तिकन काम गर्नु पर्नेछ ।’