इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार उनले एक शोक वक्तव्यमार्फत इजरायलमा विद्रोही समूहको हिंसात्मक आक्रमणमा १० जना नेपालीको मृत्यु भएकोमा दुःख प्रकट गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोही बमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गरेका छन् ।
इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ भने केही इजरायलका स्थानीय अस्पतालमा उपचाररत छन् । अन्य नेपालीलाई त्यहाँको सरकारले सुरक्षित स्थानमा सारेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० ०९:४९













