
सिरहा— अनुसन्धानका नाममा व्यापारीलाई पटकपटक दुःख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् ।
मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।
असोज ४ मा टोलीले साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो ।
राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीयले हातपातको प्रयास गरेका थिए । टोलीलाई सुरक्षा दिएर मिर्चैयाबाट पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रविन्द्रराज पाण्डेले बताए ।
राजस्व अनुसन्धान टोलीले पटकपटक एउटै व्यापारीको पसलमा अनुसन्धानको नाममा दुःख दिएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा टायर बालेर विरोध गरेका थिए । सम्झाइबुझाइ राजमार्गमा आवागमन सहज बनाइएको डीएसपी पाण्डेले बताए ।













