
काठमाडौं— संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरूले मंगलबार पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् ।
मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले सरकारसँग न्यायको माग गर्दै उनीहरूको मुद्दामा सरकारको उपस्थिति खोजेका हुन् ।
उनीहरूले ‘हामी यहाँ छौँ, खै सरकार कहाँ छ ?’, ‘हामीलाई न्याय कसले दिने ?’ ‘अन्तर प्रदेश सरुवा लागू गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर गीत, कविता मार्फत रचनात्मक प्रर्दशन गरेका थिए ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने, तीनै तहमा कर्मचारीको समान वृति विकास गरिनुपर्ने लगायतका २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरू निरन्तर सडक आन्दोलनमा छन् ।













