News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्रीले गरे इजरायलका समकक्षीसँग टेलिफोनमा कुराकानी, भने– सम्पर्कविहीन नेपालीको खोजीमा सहयोग गर्दिनुस्

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका समकक्षी एलीकोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे।

‘महामहिमज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरूमा झन पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’  

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे ।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:४४
Weather Update