News Griha :: न्यूजगृह
यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा

काठमाडौं— नेपालमा यसवर्ष मनसुन अवधिमा ८८‍.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाँईले आकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए ।

उनले भने,‘सरदरभन्दा कम वर्षा हुने आकलन गरिए पनि जोमसोममा २ सय १० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव ५ प्रतिशत हो ।’

त्यस्तै काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव ४ मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुंगामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो ।

यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष ६ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब ८ मिलिमिटर हो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:११
Weather Update