News Griha :: न्यूजगृह
कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

काठमाडौं— नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराईमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।

बैठकपछि मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । उनले भने,‘गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति छ । त्यहीअनुसार अब पनि कोशीमा कांग्रेसले नेतृत्व लिन्छ ।’

यसअघि कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले दुई पटक नै विश्वासको मत पाउन सकेनन् ।

एमालेबाट मुख्यमन्त्री बनेका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:१६
Weather Update