News Griha :: न्यूजगृह
डेंगु संक्रमण कम हुँदै

काठमाडौं— डेंगु भाइरसको संक्रमण कम हुँदै गएको छ । अंग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु संक्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा  घटेको पाइएको हो ।

इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा‍.रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा संक्रमण फैलिन नपाएको बताए ।

‘हामीले भदौ र असोजमा डेंगु संक्रमण बढ्ने प्रक्षेपण गरेका थियाैँ’,उनले भने,‘स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा संक्रमण बढ्न पाएन ।’

सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेंगु नियन्त्रणमा रहेको उनको भनाइ छ । यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेंगु संक्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेंगु संक्रमण फैलिँदा २० जनाको ज्यान गएको छ ।

सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । गत अगस्तमा १३ हजार आठ सय ४० संक्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ संक्रमण देखिएका छन् ।

गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगु संक्रमण देखिएको थियो ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेंगु रोग लाग्ने गर्दछ  ।

महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:३८
Weather Update