News Griha :: न्यूजगृह
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुई विधेयक पारित

सुर्खेत— कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।

अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ ।

कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेर लागु भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ ।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

सो अधिवेशनमा कूल ३९ बैठक बसेको सभामुख नन्दा गुरुङले जानकारी दिइन् । अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो ।

कूल ५४ घण्टा बसेको बैठकमा सबैभन्दा लामो २३औँ बैठक तीन घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो । बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:१२
Weather Update