
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् ।
एमाले मधेस प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेसको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन् ।
उनले मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकोले अब मधेस प्रदेशको मुख्यमन्त्रीदेखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए ।
उनले यही अवधारणा अबको अधिवेशनमा अगाडि सार्दै काम गर्ने योजना रहेको बताए । सचिव भट्टराईले एमालेले स्थानीय चुनावदेखि प्रतिनिधि सभाको चुनावसम्ममा बहुमत ल्याउने उद्देश्यले ६६ हजार २०० जना आफ्नो पार्टी सदस्यहरुलाई यस अधिवेशनमा कुनै न कुनै हिसाबले सहभागिता गराएको जनाए ।
असोज २४ (भोलि) र २५ गते (पर्सी) जनकपुरधाममा हुने नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए ।