News Griha :: न्यूजगृह
मुढा बुन्न सिक्दै विद्यार्थी

म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदीले फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन् । विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागेकी हुन् ।

सुवेदीमात्रै होइन यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् । विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिए ।

शुक्रबार र अन्य दिनमा दिउँसो खाजा खाने समय र विषयगत पठनपाठन नहुने समयमा विद्यार्थीलाई मुढा बुनाइको तालिम दिने गरिएको उनले बताए । असोज १९ गतेबाट सुरु भएको विद्यार्थीको मुढा बुनाइ तालिम करिब दुई सातासम्म सञ्चालन हुनेछ । 

स्थानीयस्तरमा पाइने बाँसको सिन्कासमेत विद्यार्थी आफैँले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसीको बन्दोबस्त गरेपछि मुढा बुन्दै आएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सहप्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भइरहेको छ ।

कक्षाकोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीपविहीन बन्ने गरेकाले उनीहरूलाई हामी पनि गर्न सक्छौं भन्ने भावना र उपयोगी सीपको विकास गराउने उद्देश्यले मुढा बुनाइ तालिम सञ्चालन भएको तालिमका सहप्रशिक्षकसमेत रहेका शिक्षक गोविन्द पौडेलले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरू मुढाका लागि आवश्यक पर्ने सिन्का तयार गर्न र सिन्कालाई फ्रेममा राखेर रसीको डोरीले मुढा बुन्न सक्ने भइसकेका छन् । एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि एक सय १० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थी बताउँछन् ।

विद्यालयमा सिकेको सीपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरूको तयारी छ । मुढा बुन्ने तालिमबाट सीप सिकेका विद्यार्थीबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालयमार्फत बिक्री गरेर विद्यालयको बाल क्लबका लागि आम्दानी गर्ने लक्ष्यसमेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताइन् ।

विद्यालयले यसअघि गत वर्ष कक्षा ९ का विद्यार्थीलाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१५
Weather Update