News Griha :: न्यूजगृह
एमालेसँग मेरो खेल सुरु भयो, केपी ओलीमा भन्दा प्रचण्ड–नारायणकाजीमा राजनीतिक चरित्र : दुर्गा प्रसाईं

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेसँग आफ्नो खेल सुरु भएको बताएका छन् ।

सोमबार दिउँसो एमाले निकट युवा संघले प्रसाईंलाई कालोमोसो दलेपछि मंगलबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले एमालेसँग आफ्नो खेल सुरु भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘म खुसी छु । मैले त नागरिक बचाउ, देश युवाविहीन भयो, जनताले दुःख पाए भन्दा मलाई दुर्व्यवहार भयो । एमाले कसको पार्टी रहेछ भन्ने देखियो । तस्करहरूको पार्टी एमाले भन्ने प्रमाणित भयो । गरिबको आवाज उठाउँदा मलाई कालो मोसो दलियो । यसको जवाफ जनताले फर्काउँछन् ।’

उनले एमालेसँग खेल सुरु भएको बताए । ‘हिजोदेखि खेल सुरु भयो, एमालेले मसँग खेल सुरु गर्‍याे, मैले आजबाट पत्रकार सम्मेलन गरेर सुरु गरेँ’, प्रसाईंले भने,‘खेल बन्द भएको छैन ।’

उनले केपी ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठहरूमा धेरै राजनीतिक चरित्र रहेको दाबी समेत गरे ।

प्रसाईंले भने,‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो ।’

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:१८
Weather Update