News Griha :: न्यूजगृह
समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ जिल्लामा सन्देश सभा गर्दै

कास्की— समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देश सभा गर्ने भएको छ ।

मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देश सभा गर्ने निर्णय गरेको हो ।

समाजवादी मोर्चामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देश सभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ । 

यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समाजवादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देश सभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताइन् ।

उनका अनुसार बैठकले मोर्चाका शीर्षनेताको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देश सभाको समीक्षा लगायतका विषयमा छलफल गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उनले बताइन् ।   
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:०१
Weather Update