
काठमाडौं— सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएका छन् ।
इलाम नगरपालिका- ९ का १० जना असोज १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् । कामको खोजीमा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको इलाम नगरपालिका- ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।
आफैँले चिनेका ६ जना सम्पर्कमा नरहेका र उनीहरूसँगै अरु नेपालीहरू पनि सम्पर्कविहीन रहेका उनले पुष्टि गरे । उनीहरूको अवस्थाबारे छलफल र खोजीका लागि पहल गर्ने उद्देश्यले मंगलबार बिहान ७ बजे पीडित परिवार र सरोकारवाला सहितको बैठक बोलाइएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने सेनबहादुर कार्की र लाक्पा शेर्पा बेपत्ता भएको अनौपचारिक सूचना आएको जानकारी दिए । सम्पर्कविहीन भएको मौखिक सूचना आए पनि सिक्किम प्रशासनबाट उनीहरूबारे जानकारी पाउन नसकिएको उनको भनाइ छ ।
टिस्टा नदिमा बाढी आएपछि त्यहाँ टेलिफोन र विद्युत समेत अवरूद्ध हुँदा सिक्किममा सम्पर्क स्थापित हुन नसकेको पोखरेलले बताए । असोज १६ गते राति सिक्किमको लाचेन उपत्यकास्थित टिस्टामा बाढी आएको थियो ।
टिस्टा नदीमा एकाएक पानीको सतह बढ्दा केही सैन्य गाडी हिउँको लेदोमा डुबेका, कयौँ वस्तीमा बाढी पसी घर भत्किँदा मानिसहरू विस्थापित भएका बीबीसीले उल्लेख गरेको छ ।
बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेका अधिकारीहरूले बताएका छन् । त्यसमध्ये इलामका स्थानीय पनि रहेका बताइएको छ । यद्यपि सिक्किम प्रशासनसँग पनि नेपाली नागरिक हराएका बारे आधिकारिक सूचना नभएको प्रजिअ पोखरेलको भनाइ छ ।













