News Griha :: न्यूजगृह
सर्वदलीय बैठक : जतिसक्दो चाँडो इजरायलका नेपालीको उद्धार गर्न सरकारलाई सुझाव

काठमाडौं— संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले छिटोभन्दा छिटो इजरायलमा रहेका नेपालीहरूको उद्धारमा लाग्न सरकारलाई सुझाव दिएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले इजरायलमा अलपत्र नेपालीहरूलाई सुरक्षित स्थानमा लैजानका लागि सुझाव दिएका हुन् ।

सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको बताए ।

‘सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ । सबै नेपालीलाई सुरक्षित राख्ने र जोखिममुक्त बनाउन सरकारले कदम अघि बढाएको जानकारी भएको छ,’ लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने ।

उनका अनुसार इजरायलबाट फर्कन चाहने नेपालीका लागि जहाज पनि तयारी अवस्थामा रहेकोबारे प्रधानमन्त्रीले बैठकमा ब्रिफिङ गरेका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले इजरायल घटनामा सबै दल र देश एकै ठाउँमा उभिनुपर्ने धारणा आएको बताए । ‘समग्र पार्टी र देश एकै ठाउँमा छ भन्ने विषयवस्तु आयो,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:५६
Weather Update