
काठमाडौं— इजरायलमाथि प्यालेस्टाइनी आतङ्कवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो ।
अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ ।
आतङ्कवादी संगठन हमासको आक्रमणपछि इजरायलले आधिकारिक रूपमै युद्धको घोषणा गरेको छ । इजरायली इलाकामा सुरक्षाकर्मी र आतङ्कवादीबीच ४८ घण्टाभन्दा लामो समयदेखि संघर्ष जारी छ । हमासको नियन्त्रण रहेको गाजामा इजरायलको वायुसेनाले हमला गरिरहेको छ ।
हमास हमलामा परी अहिलेसम्म ७०० जना इजरायलीको मृत्यु भएको छ भने इजरालयको जबाफी कारबाहीमा गाजामा ४०० जनाभन्दा बढी मारिएको एजेन्सीहरूले उल्लेख गरेका छन् । यो सँगसँगै युद्धका कारण १ लाख २५ हजार जना विस्थापित भई विभिन्न आश्रयस्थलमा बसेका छन् ।
इजरायल र हमासबीचको जारी युद्धबारे पाँच बुँदामा थाहा पाइराखौँ ।
युद्ध घोषणाको अर्थ
देशमा आतङ्कवादी हमला सुरु भएपछि इजरायलले पहिले लेबनान र त्यसपछि गाजामा ठूलो परिमाणमा सैन्य अभियान चलाएको छ। तर यसको औपचारिक घोषणा भने गरिएको छैन ।
यद्यपि इजरालयले हमासविरुद्ध सैन्य कारबाहीका लागि हरियो झन्डा दिएको छ । हालसम्म इजरायलले ८०० भन्दा बढी अखडालाई निशाना बनाएको छ । जसमा हनौन सहरको अधिकांश भाग ध्वस्त भएको छ भने कैयौँ मानिसले मृत्युवरण गरेका छन् ।
इजरायली रियर एडमिरल डेनियल हारागीले सञ्चारमाध्यमलाई बताएअनुसार हमासले हमलाका लागि हनौन सहरलाई मञ्चका रुपमा प्रयोग गरेको थियो । तर, उता प्यालेस्टाइनमा हमासका एक आतङ्कवादी नेताले गाजामा ३० भन्दा बढी इजरायलीलाई बन्धक बनाएको बताएका छन् । उनका अनुसार जबसम्म इजरायलका जेलमा रहेका प्यालेस्टाइनीलाई रिहा गरिँदैन तबसम्म इजरायली पनि रिहा हुँदैनन् ।
अमेरिका र अन्य देशले के भने?
अमेरिकाका रक्षासचि लोयड अस्टिनले इजरायललाई सहयोग गर्न फोर्ड क्यारियर स्ट्राइक ग्रुपलाई तयार रहन निर्देशन दिएका छन् । स्ट्राइक ग्रुपसँग कैयौँ जहाज र युद्धपोत विमान छन् । साथसाथै दुवै देशबीचको सङ्घर्षलाई लिएर अमेरिकाले निगरानी बढाएको छ ।
एक अमेरिकी अधिकारीका अनुसार हमलामा चार अमेरिकी नागरिकको पनि मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाउँदै सुरक्षा परिषद्मा रहेका १५ सदस्यले हमाल हमलाको निन्दा गर्न अमेरिका सुरक्षा परिषद्सँग माग गरेको छ । यसको अर्थ हुन्छ, अमेरिका इजरायलको पक्षमा छ ।
त्यस्तै, रुस र चीनले पनि इजरायल र प्यालेस्टाइनलाई वार्तामार्फत मुद्दा सुल्झाउन सुझाव दिएका छन्। जर्मनीका विकासमन्त्रीले प्यालेस्टाइन क्षेत्रमा दिने आफ्नो सहायताको समीक्षा गर्ने बताएका छन् । त्यसैगरी इरानले हमासको इजरायल प्रवेशको सराहना गरेको छ। राष्ट्रपति इब्राहिम रायसीले हमासका नेता इस्माइल हानियेह र इस्लामिक जिहादी नेता जियाद अल नखलाहसँग फोनवार्ता पनि गरेका छन् ।
नागरिकको सुरक्षाका लागि के गरिँदैछ?
संयुक्त राष्ट्र संघले आश्रयस्थलमा परिवर्तन भएका स्कुलमा गाजाका विस्थापितको संख्या १ लाख २३ हजार पुगेको बताएको छ । प्यालेस्टाइनी शरणार्थीका लागि यूएनको एजेन्सी यूएनआरडब्ल्यूएले २२५ भन्दा बढी मानिसलाई शरण दिइरहेको स्कुलमा हमला भएको तर त्यसमा कुनै हताहत नभएको बताएको छ ।
कुन मुद्दालाई लिएर सुरु भयो युद्ध ?
हमासका अधिकारीले इजरायलमाथि आक्रमण गर्दै यो हमला अल अक्सा मस्जिदमा चलिरहेको तनावका कारण भएको बताएका छन् । यसअघि सन् २०२१ मा इजरायल र हमासबीच ११ दिनसम्म युद्ध चलेको थियो । स्मरण होस्, इस्लाम धर्ममा अल अक्सालाई मक्का र मदिनापछि तेस्रो पवित्र धार्मिक स्थान मानिन्छ । यसैलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ ।
विभाजित इजरायलमा के हुँदैछ?
यो आक्रमण देशको कठिन अवस्थामा भएको बताइन्छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले सर्वोच्च अदालतलाई कमजोर पार्न ल्याएको प्रस्तावमाथि इतिहासकै ठूलो विरोधको सामना गर्नुपरेको छ । त्यस्तै, उनीमाथि भ्रष्टाचारको मुद्दा पनि चलिरहेको छ ।
देशमा विरोध गर्नेहरूले प्रधानमन्त्री नेतान्याहूले सत्ता हत्याएको आरोप लगाएका छन् । यसले त्यहाँ मानिस दुई भागमा विभाजित भएका छन् भने सेनाभित्र पनि उथलपुथल ल्याएको छ ।



श्रोतः आइएनएस-स्वतन्त्र समाचार
तस्बिरहरु एएफपी/रासस













