इजरायल—हमास युद्ध
इजरायलमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।
उनले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूित प्रकट गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १६:१९