News Griha :: न्यूजगृह
इजरायलमा विद्यार्थी गुमाउँदा शोकमा सुदूरपश्चिम विश्वविद्यालय

कैलाली— ‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य  छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन ।

कति बेला आकाशमा कालो धुँवाको मुस्लो उठ्छ थाहै  हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइँदैन’,इजारयलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो यो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’ मार्फत इजरायल पुगेका पाण्डेले  अगाडि भने,‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बंकरमा पनि सोचे जस्तै सहज केही छैन । न खाना न पानी अनि त्यो चिसो भुइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।’

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ ।

‘घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बन्नुभएको छ । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ’, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, ‘हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।’ उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए ।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए ।

उपप्राध्यापक घिमिरे भन्छन्,‘आज दुःखद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।’

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए ।

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले उनीहरुको मृत्युले आशाको दियो निभेको बताए । 

पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ । विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुगेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:२१
Weather Update