News Griha :: न्यूजगृह
राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने शान्ति समाजका ११ पक्राउ

काठमाडौं— राष्ट्रपति कार्यालय शीतल निवास अगाडि  सोमबार प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् ।

राष्ट्रपतिले जघन्य अपराधमा जेलमा रहेका कैदीको सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनी छन् ।

उनीहरूले शीतल निवास अगाडि राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइँदैन ? जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:२३
Weather Update