News Griha :: न्यूजगृह
इजरायलबाट सुरजले पठाए प्रधानमन्त्रीलाई पत्र, भन्छन्— हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ
सुरज भण्डारी । तस्बिर उनको फेसबुकबाट ।

काठमाडौं— इजरायलमा रहेका नेपाली विद्यार्थी सुरज भण्डारीले उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक कारुणिक पत्र लेखेका छन् ।

अन्नपूर्ण गाउँपालिका—२ कास्कीका भण्डारीले हमासको आक्रमणका कारण इजराजयको स्थिति भयावह भएको पत्रमा उल्लेख गर्दै आफ्नो जतिसक्दो छिटो उद्धारका लागि सोमबार प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । उनले पत्रका भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, हाम्रो आत्मबल घटेको छ, सपनाको संसार भत्किँदै गइरहेको छ, हामीलाई देश आउने वातावरण बनाइदिनुहोस् ।’

‘कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिने लागेका विध्यार्थीहरु (११४) जना अहिले हामी इजरायल र हमासको इन्दको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्माबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।’

‘आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ,’ भण्डारीले पत्रमा लेखेका छन्,‘बंकरमा लुक्यो भने बंकरभित्र नै छिरेर आक्रमण भइराखेको छ । हामी हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौं, हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन,जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।’

हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:२४
Weather Update