
काठमाडौं— यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारले सोमबारबाट दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट खुला गरेको छ । टिकट खुलाएको पहिलो दिन सोमबार बसपार्क क्षेत्रमा निरीक्षण गर्न पुगेका सिटौलाले टिकट अभाव हुन नदिन सक्दो प्रयास गर्ने बताए ।
उनले व्यवसायीलाई तोकिएभन्दा भाडा बढी नलिन आग्रह गर्दै टिकटको कालोबजारी गरेको पाइए कारबाही गर्ने चेतावनी दिए ।
सिटौलाले भने,‘हामीले बेवसाइटमा राखेको भाडाको जुन रेट छ त्यो भाडाभन्दा एक रुपैयाँ बढी व्यवसायीले नलिनुहोला । छिटो टिकट चाहियो भनेर सिट मिलाउने हिसाबले बाहिरबाट बिचौलियासँग सेवाग्राहीले टिकट लिुनुहुन्छ भने तपाईंहरू आफैं ठगिनुहुन्छ । काउन्टरमा परिचयपत्र बोकेका कर्मचारीसँग मात्रै टिकट काट्नुहोस् । भाडामा एक रुपैयाँ पनि तलमाथि हुँदैन ।’













