
गोरखा— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको पुराना पार्टी र नेताहरूप्रति व्यापक असन्तुष्टि र आक्रोश रहेको बताएका छन् ।
प्रत्येक महिना गृहजिल्ला गोरखा आउनेक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले जनसंवाद गरेका छन् ।
आश्राङ, बगुवा, मसेल, महटार, चोरकाटे, चित्रेपोखरी लगायतका स्थानमा विभिन्न पार्टी तथा जनसमुदायका बीचमा डा.भट्टराईले जनसंवाद गरेका हुन् ।
सो क्रममाः जनताले खासगरी बढ्दो महंगी र आर्थिक मन्दी, रोजगारी अभावमा युवा पलायन, मध्यपहाडी लोकमार्गलगायत पूर्वाधार निर्माणमा ढिलासुस्ती र भ्रष्टाचारका विषयमा जनताले प्रश्न उठाएको डा.भट्टराईले बताए ।
त्यसैगरी जनताले सार्वजनिक विद्यालयहरूमा पहिलेको तुलनामा एकतिहाइ मात्र विद्यार्थी, कृषि पेसाप्रति आम रूपमा बढ्दो विकर्षण, सबैक्षेत्रमा दलीय सिन्डिकेट आदिबारे राज्य र सरकारको भूमिकाप्रति बढी असन्तुष्टि जनाएको भट्टराईको भनाइ छ ।