News Griha :: न्यूजगृह
ओएसआर डिजिटलका सञ्चालक अग्रवाल हाजिरी जमानीमा छुटे

काठमाडौं— फिल्म 'प्रसाद २' को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल हाजिरी जमानीमा छुटेका छन् ।

आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा छाडेको हो । अग्रवाललाई उनका कानुनी सल्लाहकार आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

'आइतबार बयान सकिएकाले जिम्मा जमानीमा छाडेका हौं,' परिसर स्रोतले भन्यो । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका २९ बाट पक्राउ गरेको थियो । उनीविरूद्ध 'प्रसाद २' का निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा फिल्म प्रसारण गरी एक करोड ५० लाख रुपैयाँ नोक्सान पुर्‍याएको भन्दै गत साउन १० गते जाहेरी दिएका थिए ।

उनले ठगी, आपराधिक विश्वासघात, 'एक्सटर्सन' तथा आपराधिक लाभ मुद्दामा अग्रवालसहित, निर्देशक सुदर्शन थापा र फिल्म सम्पादक मिलन थापाविरूद्ध जाहेरी दिएका थिए । 

सोही आधारमा पक्राउ परेका अग्रवाललाई आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरिएको थियो । त्यस्तै फिल्म निर्देशक सुदर्शन थापा र सम्पादक मिलन थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०६:५९
Weather Update