News Griha :: न्यूजगृह
बागमतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— देशका केही भूभागमा सोमबार बिहान वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

विभागले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०६:५०
Weather Update