
काठमाडौं— नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरि इजरायलमा नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा गर्न माग गरेका हुन् ।
त्यस्तै, कांग्रेसले त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा पुर्याउन तथा आवश्यक परे स्वदेश फर्काउनका लागि सरकारले अविलम्व कूटनीतिक पहल गर्नुपर्ने बताएको छ ।
इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।