शिक्षामन्त्री राईले संसदमा पेस गरे सरकार र शिक्षक महासंघबीचको सहमति

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति संसद बैठकलाई जानकारी गराएका छन् ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संसदको आइतबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराएका हुन् ।
उनले सहमतिबमोजिम शिक्षकको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए ।
मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफैं निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने बताए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १६:२८













