काठमाडौं— महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन् ।
शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यलयले प्रमाणहरूको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याएको दाबी गरे ।
उनले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने नर्णय लिएको बताए । उनले राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभइ विवेकपूर्ण रूपमा गरिएको स्पष्ट पारे ।
उनले अदालतको फैसलाले नै कतैपनि प्रक्रियागत त्रुटि रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताए । उनले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गरे ।
‘हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ । हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ । कानुन र प्रमाणको मूल्यांकन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन,’ उनले भने ।
फरक प्रसंगमा, महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पारे । उनले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुनेपनि बताए ।
महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने ? भन्ने कुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गरे ।













