
काठमाडौं— धनुषाको जनकपुर बिग मार्टमा गएराति आगलागी भएको छ ।
रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाँले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, सबैला, नगरपालिका, सशस्त्र प्रहरी गण मधेस प्रदेश, नेपाल प्रहरी गण ढल्केबरको बारुण यन्त्र र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएको छैन । यद्यपि आगलागी नियन्त्रणमा नआएकोले क्षतिको विवरण यकिन हुन नसकेको डीएसपी अवाँले बताए ।
आगलागी भएको मार्ट रामबाबु रायले सञ्चालन गरेका थिए । मार्टको दोस्रो तल्लामा बसिरहेका राय दम्पतीले आगलागी भएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए ।













