News Griha :: न्यूजगृह
बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज (आइतबार) बेलायत जाँदै छन् ।

बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।

प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको भ्रमण गर्ने छन् । ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने छन् । प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रिएन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो ।

आजभन्दा ठिक एक सय वर्षअघि अर्थात् सन् १९२३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबरा र बेलायत सरकार (तत्कालीन ब्रिटिस–इन्डिया) बीच भएको सन्धिले नेपाललाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र बराबरीको मान्यता भएको समकक्षी मुलुकको मान्यता दिएको थियो ।

नेपाली सेना र बेलायती सेनाबीच पुरानो र न्यानो मित्रवत् सम्बन्ध रहिआएको छ । बेलायती सेनामा नेपालीलाई गोर्खाली सेनाका रुपमा समावेश गर्दै आएको छ । त्यो सङ्ख्या अहिले पनि करिब चार हजारको हाराहारीमा छ । बेलायती सेनामा गोर्खा समावेश कार्यलाई दुईपक्षीय सम्बन्धको अनुपम र बेग्लै अयामका रुपमा हेरिने गरिएको छ ।बेलायत सरकारले गोर्खाली सैनिकले पुर्‍याएको योगदानको उच्च कदर गर्दै त्यहाँको रक्षा मन्त्रालय भवन परिसरमा गोर्खाली सैनिकको सालिक स्थापित गरेको छ ।

नेपाली सेनाका कैयौँ अधिकृत बेलायतमा तथा त्यहाँका सेनाका अधिकृत पनि तालिम प्रशिक्षणका लागि नेपाल आउने अभ्यास छ । बेलायतमा पाँच दर्जनभन्दा बढी विभिन्न शैक्षिक कार्यक्रम, तालिम, अभ्यास, सेमिनारलगायत उच्चस्तरीय भ्रमणमा नेपाली सेना सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:२६
Weather Update