
विराटनगर— नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने अवस्था देखेपछि शनिबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिए ।
सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेर राजीनामा गरेपछि अब कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त हुनेछन् ।
अबको प्रक्रियामा प्रदेश सभामा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन् । मुख्यमन्त्री नियुक्त हुन चाहनेले बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ ।
आगामी मुख्यमन्त्रीका लागि सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमै रस्साकस्सी हुने देखिएको छ । केन्द्रमा कांग्रेस र माओवादीको सत्ता गठबन्धन छ । शनिबार मुख्यमन्त्री कार्कीले राजीनामा दिएपछि सञ्चारकर्मीसँग निवर्तमान मुख्यमन्त्री उद्धव थापाले भने, ‘मैले यसअघि २ पटक मुख्यमन्त्री बन्ने मौका त पाएँ तर काम गर्ने अवसर पाइनँ । त्यसैले अब मेरो दाबी रहन्छ तर गठबन्धनका शीर्ष नेताहरूले यसबारे टुंगो गर्नुहुन्छ ।’
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि अब मुख्यमन्त्रीमा माओवादीको दाबी रहने बताए । उनले भने, ‘नेपाली कांग्रेसले यसअघि २ पटक अवसर पायो, बहुमत सिद्ध गर्न सकेन । माओवादी नेतृत्वमा सरकार बन्दा बहुमत जुटाउन सजिलो हुने विश्वासमा हामी छौं ।’
नेकपा एमाले संसदीय दलका नेता कार्कीले दलहरू नमिले मध्यावधि निर्वाचन हुने संकेत गरे । उनले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताउँदै राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहना नभएको बताए ।
उनले भने, ‘अहिलेको जटिलता र अङ्कगणितको अवस्थाले थप जटिलतालाई नजरअन्दाज गर्ने हो भने हामी मध्यावधिको अवस्थामा पुग्नेछौँ । एमाले डराउँदैन । निर्वाचनमा जान तयार छ तर निर्वाचन अहिले राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, जनताको चाहना, सामाजिक अवस्था आदि केहीमा जनताले निर्वाचनको माग गरेका छैनन् ।’