1691239424.jpg)
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा नहुँदा अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले कर तिरेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्था रहेको भन्दै राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय रूपमा नै बेइज्जत भएको दाबी गरेका हुन् ।
उनले भने, ‘जनताले कर तिरेर, ऋण काडेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्थाको विपक्षमा अर्को कुन पार्टी आउँछ ?अन्तर्राष्ट्रिय रूपमा नै राजा नहुँदा नेपालको बेइज्जत भयो , नेपालले अन्तर्राष्ट्रिय रूपमा जुन गौरव पाएको थियो त्यो गुमाउनु पर्यो मात्र होइन अहिले नेपाल शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा सँग ठूलो क्षति व्यहोर्ने पर्ने खतरा देखिन थालेका छन् ।’
अध्यक्ष लिङ्देनले अहिलेको नेतृत्वले देशको समस्याको समाधान गर्ने औषधीको रूपमा ल्याएको गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता देशको समस्याको मूल कारण भएको तर्क गरे । गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षता अन्त्य नगरी देशले निकास प्राप्त गर्न नसक्ने उनको भनाई छ ।
उनले भने, ‘अहिलेको नेतृत्व सँगसँगै देशको समस्याको समाधान गर्ने औषधीको रूपमा ल्याएको यो गणतन्त्र सङ्घीयता धर्मनिरपेक्षता देशको समस्याको मूल कारण छ । अहिले त्यो अन्त्य नगरी देशले निकास प्राप्त गर्दैन ।’
उनले सबैलाई चाडपर्वको बाहना नबनाई चाडपर्व मान्दै संगठन बनाउँदै दसैँपछि आन्दोलनको आँधिबेरी सृजना गर्ने गरी तयार हुन आग्रह गरे ।