News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, सरकारका कामको समीक्षा 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेपालले जानकारी दिए । 

शनिबार सिंहदरबारमा भएको भेटमा सरकारलाई प्रभावकारी बनाएर लैजानेदेखि वर्तमान आर्थिक, सामाजिक अवस्था र गठबन्धन सरकारको अभियान लगायतका विषयमा छलफल भएको भेटपछि सञ्चारकर्मीलाई नेपालले जानकारी दिए । 

उनले भने, ‘कसरी सरकारलाई प्रभावकारी बनाउने भन्ने विषयमा बसेर छलफल गरौँ भन्ने कुरा भएको छ । अर्थतन्त्रको विषयमा पनि छुट्टै गठबन्धनका नेतामात्र बसेर केके समस्या छन्, सो बारे हाम्रा अलगअलग धारणा छन् कि छैनन् र कसरी त्यसबारे सम्बोधन गर्ने भन्ने कुरा पनि उठ्यो त्यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो ।’ 

नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आमसभा सहित सरकारका विभिन्न निकायका नियुक्तिको सन्दर्भमा समेत कुरा उठाएको बताएका छन् ।  

‘सुदूरपश्चिमको धनगढीमा समाजवादी मोर्चा नेपालको हामीले एउटा कार्यक्रम गर्न बाँकी छ ,त्यसको लागि मिति तय गरेका छौं । सल्लाह गरेर टुङ्गो लाग्छ ।’ 

नेपालले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको जानकारी दिँदै दुई पार्टीमा  राजनीति नियुक्तिको विषयमा भएको सहमति कार्यान्वयनको विषय पनि उठाएको जानकारी दिए ।    

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:१२
Weather Update