
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् ।
कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए ।
उनले देशमा जताततै अराजकता रहेको र अहिलेको परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबी गर्दैै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् ।
उनले भने, कतै पनि कुनै पनि तरिकाले देश अगाडि बढेको छैन । त्यसकारण यो सरकार सच्चिनुपर्यो, सच्चिन सक्दैनौँ भने छोड्नुपर्यो । अरु विकल्प छैन ।’
उनले प्रधानमन्त्रीले आगामी २०८४ को चुनावमा माओवादीलाई जिताए जातीय राज्य दिन्छु भनेको प्रसंग गैरजिम्मेवार भएको उल्लेख गर्दै सो विषय नेपाली जनताको लागि दुर्भाग्यपूर्ण भएको बताए ।
‘उहाँ यो देशको प्रधानमन्त्री होकी पार्टीको सभापति हो ? पार्टीको सभापति हो भने जे गरेपनि हुन्छ । तर, देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्न मिल्दैन । देशको प्रधानमन्त्री विराटनगर गएर के भन्नुहुन्छ, २०८४ को चुनावमा मलाई भोट देऊ, माओवादीलाई जिताउ जातीय राज्य दिन्छु । उहाँको खल्तीबाट जातीय राज्य निकाल्दै दिने होकी, प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो गैरजिम्मेवार कुरा आउनु नेपाली जनताको लागि दुर्भाग्य हो,’ कोइरालाले भने ।
उनले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै यो अवस्थालाई सम्हाल्न र अराजकतालाई समाप्त गर्न नेपाली कांग्रेसले मात्रै सक्ने दाबी गरे ।
उनले भने,‘देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक, राजनीति, सामाजिक, धार्मिक र कुटनीतिक अराजकता पनि आइसकेको छ । यसलाई सम्हाल्न नेपाली कांग्रेसबाहेक नेपालमा कुनै पनि लोकतान्त्रिक पार्टी छैन । यसले यो अवस्थालाई सम्हाल्न सक्छ । नेपाली कांग्रेसले मात्रै अराजकतालाई समाप्त गर्न सक्छ ।’