
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताए । ‘निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरू नआएका होइनन् । सुधारहरू नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरू अलपत्र हुन्छन् र कुनैबेला गएर फेरि मैले दिएका निर्देशनहरू मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ,’ थापाले भने ।
उनले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताए ।
‘केही कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइयो । मैले भने म भ्याउँदिन । आयोजकहरूले भन्नुभयो प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने ? अप्ठ्याराे लाग्यो म गएँ,’ उनले भने, ‘मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु ।’
यस्तै, सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि अलमल भइरहेको बताए । उनले प्रधानमन्त्री दाहालसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको बताए ।
‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली पनि हो । सबैभन्दा जिम्मेवार पनि हो । सरकार भनेको एकप्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा सुरु भयो । मेरो लक्ष्य प्रष्ट छ । यो लक्ष्यसम्म पु¥याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो । अपजस भएपनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ,’ थापाले भने, ‘तर, कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु ।’
सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलामा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध गरे । उनले न्यूनतम कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताए । उनु भयो । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिए । ‘यद्यपि, यो भनिरहँदा के पनि ख्याल गर्नुपर्छ भने केही समय पहिला पुष २५ गते सदन चलिरहेकै बेलामा बाहिर प्रस्तुत भयो । त्यो बेलामा प्रतिपक्ष दलको तर्फबाट हाम्रा केही साथीहरूले गलत भयो भन्नुभयो आज हामी सत्तापक्षमा छौँ यसलाई सही नभनौँ,’ उनले भने ।
सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताए । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताए । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाइ छ । उनले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरूसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गरे ।













