News Griha :: न्यूजगृह
भेडाको बसोबास अब बेँसीमा

बाग्लुङ— गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेँसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेँसी झर्न थालेपछि बाग्लुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेँसीतिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेँसी झर्न सुरु गरेका हुन् । बर्खामा बेँसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेँसी गर्ने गर्छन् ।

पश्चिम बाग्लुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेँसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् ।

गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेँसी झर्ने गर्छन् । बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ ।

यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेँसी झरेर बजार तिर लाग्ने गर्छन् ।

बेँसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बाग्लुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।

गत वैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए ।चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए ।

चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ । ‘चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेँसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्’, उनले भने,‘भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ ।’

भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेँसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए । असोज ११ मा बेँसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ ।

करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।

स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए । आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताए ।

६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए । दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:०८
Weather Update