चितवन— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।
समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजना गरिएको कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने बताए । उनले भने, 'सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।' जनतामा निराशा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने नेपालको भनाइ थियो ।
जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निराशालाई चिर्नुपर्ने बताए ।
उनले भने, 'अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।' समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै नेपालले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा एकीकृत समाजवादी अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताए ।